·
शेयर कारोबारको समय बढाउने तयारी, नेप्से अब बिहान १० बजेदेखि खुल्ने सम्भावना
Author
NEPSE TRADING

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर कारोबारको समय बढाउने तयारी गरेको छ। हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबार समयलाई परिवर्तन गरी बिहान १० बजेदेखि नै सञ्चालन गर्ने गृहकार्य बोर्डले अघि बढाएको हो।बोर्ड स्रोतका अनुसार धितोपत्र बोर्डको बैठकमै कारोबार समय बढाउने विषयमा सहमति बनिसकेको छ। यद्यपि अन्तिम निर्णय भने नयाँ सरकार गठन भएपछि गर्ने तयारी गरिएको बताइएको छ। कारोबार समय बढाउने निर्णयले लगानीकर्तालाई थप समय उपलब्ध हुने र बजार गतिविधि अझ सक्रिय हुने अपेक्षा गरिएको छ।यससँगै नेपाल हाल अन्तर्राष्ट्रिय रूपमा ग्रे लिस्टमा परेको अवस्थालाई ध्यानमा राख्दै सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि पनि बोर्डले कडाइ गर्ने संकेत दिएको छ। विशेषगरी भित्री कारोबार (इनसाइडर ट्रेडिङ) रोक्न तथा बजारमा पारदर्शिता कायम गर्न नियामक निकाय थप सक्रिय हुने बुझिएको छ।यसै सन्दर्भमा केही दिनअघि मात्रै धितोपत्र बोर्डले नियम उल्लंघन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनीलाई कारबाही गर्दै कुल १ करोड १० लाख रुपैयाँ जरिवाना तिराएको थियो। नियामक निकायले बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन आगामी दिनमा थप कडाइ गर्ने संकेत दिएको छ।



