स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्ष सागर ढकालको मन्तव्य : पूँजी बजार सुदृढीकरणको आग्रह
Author
NEPSE TRADING

स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) का अध्यक्ष सागर ढकालले देशको पूँजी बजारको स्थायित्व, आधुनिकीकरण र नीति–संरचनात्मक सुधारका लागि सबै सरोकारवालाहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
ढकालले दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा शहादत प्राप्त सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सहिद परिवारका एक सदस्यलाई एशोसिएसन अन्तर्गतका सदस्य संस्थामा रोजगारीको अवसर प्रदान गरिने घोषणा गरे।
ढकालले ३३ वर्षको यात्रामा पनि नेपालको पूँजी बजार अझै विकास र विस्तारको चरणमै रहेको बताए। उनका अनुसार, धितोपत्र ऐन, २०६३ लागू भएको दुई दशक बितिसक्दा पनि त्यसमा समयसापेक्ष सुधार हुन नसकेको र नीति, प्रविधि, पूर्वाधार र प्रडक्टको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ।
उनले सेयर कारोबारका पूर्वाधार अझै अपूरा रहेको उल्लेख गर्दै भने, “अहिलेसम्म लगानीकर्ताले डिम्याट, बैंक, ब्रोकर र आस्बा खाताका लागि विभिन्न निकायमा भौतिक रुपमा धाउनुपर्ने अवस्था छ। भिडियो KYC र सेन्ट्रल KYC जस्ता प्रणालीलाई पूर्णरुपमा अवलम्बन गर्न सकेको छैन।”
ढकालले धितोपत्र पुनःप्रयोग गर्न नपाइने व्यवस्थामा पनि सुधार गर्नुपर्ने बताए। उनले भने, “धितोपत्र लेण्डिङ–बोरोइङ्ग, इन्ट्राडे र सर्ट–सेल जस्ता प्रणाली अवलम्बन गर्न सके लगानीकर्तालाई थप सुविधा र तरलता प्राप्त हुने थियो।”
अध्यक्ष ढकालले बजारमा अझै पनि साधारण सेयर र केही डिबेन्चर तथा म्युचुअल फण्ड बाहेक नयाँ औजार नआएको बताउँदै अप्सन र फ्युचर्सजस्ता आधुनिक उपकरण तत्काल लागू गर्नुपर्नेमा जोड दिए।
उनले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र ऐनका दफा ११६ र ११७ को प्रयोग गरी नयाँ नियम र विनियम निर्माण गर्न आग्रह गरे। “कानूनी आधार बिना बजारको आधुनिकीकरण सम्भव छैन,” उनले भने, “अब बोर्डले तदारुकताका साथ आवश्यक नियम निर्माण गरी बजारलाई व्यवस्थित बनाउने कदम चालोस् भन्ने अपेक्षा राख्छौं।”
ढकालले विकसित देशहरूमा इन्डेक्स फण्ड, कमोडिटी र डिजिटल सम्पत्तिहरू समेत प्रमुख लगानीका औजार बनिसकेको बताउँदै नेपाल पनि सो दिशामा अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्न सक्ने वातावरण बने देशमा वैदेशिक मुद्रा र रोजगारी वृद्धि हुनेछ।”
वर्तमान राजनीतिक र आर्थिक अन्योलका सन्दर्भमा ढकालले आन्दोलनरत पक्षहरूलाई वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गरे।
उनले भने, “नेपाल बुद्धको देश हो, यहाँ झगडा होइन, संवादको संस्कृति हुनु आवश्यक छ।”
अन्त्यमा, उनले दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सबै नियामक, लगानीकर्ता, दलाल सदस्य र सञ्चारकर्मीहरूलाई शुभकामना दिँदै भने, “आगामी वर्ष हाम्रो पूँजी बजार अझ सबल, स्थिर र पारदर्शी बनोस्, यही हाम्रो सामूहिक लक्ष्य हो।”