रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुला गर्ने
Author
NEPSE TRADING

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट आवश्यक श्रम स्वीकृति प्राप्त गर्दै आईपीओ प्रक्रिया अघि बढाएको हो।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १,१५,५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरेको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि कटअफ मूल्यमा १०% छुट लागू भएपछि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ। यसअघि बोलकबोल प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा मंसिर २५ गते बन्द हुने भए पनि सो अवधिसम्म पूरा आवेदन नपरेमा पुस ७ गतेसम्म लम्बिन सक्नेछ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड यस आईपीओको बिक्री प्रबन्धक रहेको छ। आवेदनका लागि सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिनेछ।
कम्पनीले प्राप्त गरेको रेटिङ अनुसार केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ्ग मिल्सलाई ‘CARE NP A- (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।
रिलायन्स स्पिनिङ्ग मिल्स नेपालका सबैभन्दा ठूला रोजगारदाता धागो उद्योगमध्ये एक हो। कम्पनीले आफ्ना ७०–७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, यूकेसहितका देशमा निर्यात गर्दै आएको छ। पवन कुमार गोल्याण कम्पनीका अध्यक्ष तथा अक्षय गोल्याण प्रबन्ध सञ्चालक हुन्। कम्पनीको मुख्य उद्योग सुनसरीको ईटहरी नगरपालिका–१२, खनारमा तथा शाखा उद्योग ईटहरी–४, दुहबीमा अवस्थित छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ।


