शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारण सभा पुस २९ गते
Author
NEPSE TRADING

काठमाडौं । Shikhar Insurance Company Limited ले आफ्नो २१औँ वार्षिक साधारण सभा (AGM) आगामी पुस २९ गते आयोजना गर्ने भएको छ। कम्पनीले सो सम्बन्धी सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणसमेत प्रकाशन गरेको छ।
कम्पनीको सञ्चालक समितिको मिति २०८२/९/४ गते बसेको ३६७औँ बैठकको निर्णयअनुसार वार्षिक साधारण सभा पुस २९ गते मंगलबार बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली, काठमाडौंमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारण सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको ०.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा समावेश गरिएको छ। प्रस्तावित लाभांशको कुल रकम ९२ लाख ३१ हजार १४७ रुपैयाँ रहेको छ।
यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालकहरूको पदावधि थप गर्ने तथा सञ्चालक पदमा नयाँ नियुक्तिसम्बन्धी निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै सर्वसाधारण समूह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचित गर्न निर्वाचन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ।
कम्पनीले वार्षिक साधारण सभामा शेयरधनीहरूलाई उपस्थित भई छलफल तथा निर्णय प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।


