साताको अन्तिम दिन सेयर बजारमा उत्साह, नेप्से मजबुत अंकले उकालो
Author
NEPSE TRADING

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह देखिएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले, फ्लोट इण्डेक्स २.०६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भएको छ।
बजारसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ३२६ कम्पनीका १ लाख ८ हजार ८१७ पटकको कारोबारमार्फत ११ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका छन्।
यस दिन तीन कम्पनी—कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जी—सकारात्मक सर्किट लेभलमा पुगेका छन्। रिडी पावर र खानीखोला हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढ्दा घलेम्दी हाइड्रोको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ। यता, सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर अग्रस्थानमा रहँदै ५८ करोड ७७ लाख रुपैयाँको कारोबार गरेको छ। त्यसपछि राधी विद्युत कम्पनी र एसवाई प्यानल नेपाल रहेका छन्। उपसमूहतर्फ हेर्दा १३ मध्ये १२ उपसमूह बढेका छन् भने व्यापार उपसमूह सामान्य घटेको छ। अन्य र निर्जीवन बीमा उपसमूह सर्वाधिक १.९८ प्रतिशतले बढेको छ।


