सपोर्ट लघुवित्तको नाफा १०४ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सकारात्मक वृद्धि
Author
NEPSE TRADING

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाफामा उल्लेखनीय सुधारको रिपोर्ट गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार, कम्पनीको नाफा १०४.८३ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएपछि लघुवित्तको खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशतले बढेको छ भने अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशतले वृद्धि भएको छ। यसै गरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशतले बढेको छ। पुस महिनाको अन्त्यसम्म लघुवित्तको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ भने यसको वितरणयोग्य मुनाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ। लघुवित्तको वितरणयोग्य प्रति सेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा रहेको छ।
नाफासँगै, लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस महिनाको अन्त्यसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ। १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ।



