सिनर्जी पावरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित
Author
NEPSE TRADING

काठमाडौँ— सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ले १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको जानकारी दिएको छ। कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउँदै साधारण सभाबाट लाभांश पारित हुनुका साथै सञ्चालक निर्वाचन पनि सम्पन्न भएको जनाएको हो।
कम्पनीका अनुसार सुरुमा २०८२ पुस २८ गतेका लागि बोलाइएको १९औँ वार्षिक साधारण सभा आवश्यक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो। त्यसपछि २०८२ पुस २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार माघ ८ गते पुनः सभा बोलाइएको भए पनि, सभा सुरु हुनुअघि केही शेयरधनीहरूको अभद्र तथा अमर्यादित गतिविधिका कारण पुनः स्थगित भएको कम्पनीले जनाएको छ।
पछि २०८२ माघ ११ गते बसेको सञ्चालक समितिको १७४औँ बैठकको निर्णयअनुसार पुनः बोलाइएको साधारण सभा अन्ततः सफलतापूर्वक सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि एस उप्रेती एण्ड एसोसियट्स लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित गरेको छ। यससँगै कम्पनीको संशोधित नियमावलीअनुसार चार जना शेयरधनी सञ्चालक पदमा निर्वाचित भएका छन्। निर्वाचित सञ्चालकहरूमा इन्द्रबहादुर थापा , सुरेन्द्रबहादुर के.सी. (खड्का क्षेत्री), प्रतीक राज अधिकारी र निरु के.सी. कार्की रहेका छन्।
कम्पनीले साधारण सभा सम्पन्न भएसँगै लामो समयदेखि देखिएको व्यवस्थापन तथा निर्णय प्रक्रियाको अन्योल अन्त्य भएको जनाएको छ। बजार विश्लेषकहरूका अनुसार लाभांश पारित र सञ्चालक निर्वाचन सम्पन्न हुनुले कम्पनीको संस्थागत स्थायित्वमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।



