तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
Author
NEPSE TRADING

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ता नयाँ हकप्रद शेयर जारी गर्नेछ। यसअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुनेछ।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयरका लागि आवेदन साउन ४ गतेसम्म दिन सकिनेछ।
यस निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग डबल बी (BB) प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। शेयरधनीहरुले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप–संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन गर्न सकिन्छ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशनपछि यो रकम दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ। संकलन भएको रकमबाट कम्पनीले माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा रहेका ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ऋणको आंशिक भुक्तानी गर्नेछ। यस अन्तर्गत माछापुच्छ्रे बैंकलाई १६ करोड, नबिल र ग्लोबल आइएमई बैंकलाई १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।