ट्रम्प–सी भेटमा अमेरिका–चीन व्यापार सम्झौताका संकेत, बसानमा सकारात्मक वार्ता
Author
NEPSE TRADING

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरिएको छ। यो भेट दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन अघि सम्पन्न भएको हो।
पत्रकारहरूले सम्भावित व्यापार सम्झौताबारे सोध्दा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम हुने विश्वास व्यक्त गरे। उनले भने,
“हामीबीच उत्कृष्ट बुझाइ छ। हाम्रो सम्बन्ध लामो समयसम्म शानदार रहनेछ।”
राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई “कडा र सक्षम वार्ताकार” भन्दै प्रशंसा पनि गरे।
राष्ट्रपति सीले भने, दुवै देशका आर्थिक टोलीबीच प्रमुख मुद्दामा आधारभूत सहमति जुटिसकेको जनाउँदै, यसले बसानमा भएको वार्ता सहज र परिणाममुखी बनाएको बताए।
उनका शब्दमा,
“हामीले प्रमुख चिन्ताका विषयमा प्रगतिशील परिणाम हासिल गरेका छौं। यो वार्ताले चीन–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशको विकासका लागि सकारात्मक वातावरण तयार गर्नेछ।”
गत केही महिनादेखि व्यापार विवाद चर्किएसँगै दुवै मुलुकबीच तनाव बढ्दै गएको थियो।
यसै महिनाको प्रारम्भमा चीनले निर्यातमा नयाँ प्रतिबन्ध लगाएको थियो भने अमेरिकाले सफ्टवेयर र प्रविधि निर्यात रोक्ने चेतावनी दिएको थियो।
वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले फेन्टानिलको अवैध आपूर्ति नियन्त्रण, टिकटकलाई बाइट डान्सबाट अलग गराउने, शुल्क दर, प्रविधि प्रतिबन्ध र दुर्लभ खनिज व्यापार जस्ता मुद्दा वार्ताको एजेन्डामा समावेश गरेको थियो।
एपिइसी आर्थिक नेतृत्व सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्यङ्जुमा हुँदैछ। ट्रम्प–सीबीचको यो उच्चस्तरीय भेटवार्ताले दुई मुलुकबीचको सम्बन्धमा तनाव घटाउने र स्थिरता ल्याउने अपेक्षा गरिएको छ।


