·

अग्राधिकार शेयर र डिवेञ्चर भनेको के हो ?

Author

NEPSE trading

अग्राधिकार शेयर र डिवेञ्चर भनेको के हो ?

अग्राधिकार शेयर

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ ।

यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ ।

अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्र को रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ ।

अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

डिवेञ्चर

तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः रु. १००० हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन ।

डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । कथंकदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । डिवेञ्चरमा प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु (च्ष्कप ब्खभचतभच) लगानी गर्न रुचाउँदछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन ।

डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

Related News