लक्ष्मीपूजाको दिन देशभर एक हजार ६५० मेगावाट बिजुलीको माग, एक हजार १५ मेगावाट निर्यात
Author
NEPSE TRADING

काठमाडौं, कात्तिक — नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजाको साँझ देशभर बिजुलीको कुल माग एक हजार ६५० मेगावाट पुगेको छ। यसैदिन नेपालले एक हजार १५ मेगावाट विद्युत् निर्यात गरेको जनाएको छ।
गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कुल विद्युत् माग एक हजार ६०२ मेगावाट थियो। यो वर्ष भने माग ४८ मेगावाटले बढी देखिएको प्राधिकरणले जनाएको छ। अहिले नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्दै आएको छ, जसले देशको विद्युत् व्यापार र विदेशी आम्दानीमा सकारात्मक योगदान पुर्याइरहेको छ।
लक्ष्मीपूजाको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सहितको टोलीले देशभरको विद्युत् माग र आपूर्तिको अवस्था प्रत्यक्ष अवलोकन गरेको छ। सोमबार राति प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षमा पुगेर मन्त्री घिसिङले समग्र विद्युत् आपूर्ति व्यवस्थाको जानकारी लिई आवश्यक निर्देशन दिएका थिए।
उनसँगै ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरू समेतको टोली उपस्थित थियो।
प्राधिकरणका अनुसार, विगत वर्षहरूमा झै यस वर्ष पनि लक्ष्मीपूजाको दिन देशभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको छ। प्राधिकरणले यसका लागि वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो, जसले गर्दा मुलुकभर उज्यालोको पर्व सहज र निर्वाध रूपमा मनाउन सकिएको छ।
स्मरणीय छ — वि.सं. २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएपछि, उनको नेतृत्वमा विद्युत् आपूर्ति व्यवस्थापनको ऐतिहासिक सुधार भएको थियो। सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि परीक्षणका रूपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरिएको थियो। त्यसपछि नेपालले क्रमशः सम्पूर्ण मुलुकमा बिनालोडसेडिङ विद्युत् आपूर्तिको दायरा विस्तार गरेको हो।