·
हिमालयन रिइन्सुरेन्ससँग जोडिएको ठूलो रकम प्रयोगबारे छानबिन आदेश
Author
NEPSE TRADING

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडसँग सम्बन्धित ठूलो रकम प्रयोगको विषयमा छानबिन गर्न निर्देशन दिएको छ। विभागले नेपाल बीमा प्राधिकरणलाई पत्र लेख्दै आधारभूत शेयरधनी दीपक भट्टले विभिन्न स्रोतमार्फत ठूलो रकम प्रयोग गरी दोस्रो बजारबाट शेयर खरिद गरेको विषयमा अनुसन्धान गर्न आग्रह गरेको हो।विभागका अनुसार भट्टले हिमालयन रिइन्सुरेन्स कम्पनीको रकम करिब २ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन सेक्युरिटिज ब्रोकरबाट २२ करोडभन्दा बढी, नेपाल लाइफ इन्सुरेन्ससँग सम्बन्धित सहायक कम्पनीबाट करिब ३७ करोड रुपैयाँ, HLI Large Cap Fund बाट २५ करोडभन्दा बढी र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट १६ करोडभन्दा बढी रकम प्रयोग गरेको देखिएको छ। यी सबै गरी कुल करिब ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको रकम विभिन्न मितिमा प्रयोग भएको विभागले जनाएको छ।उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि (धितोपत्र दलाल इजाजत नं. ५५) मार्फत शेयर खरिदमा प्रयोग गरिएको देखिएपछि बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा गम्भीर चासो व्यक्त गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस सम्बन्धमा विस्तृत छानबिन गरी रायसहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। यस प्रकरणले बीमा क्षेत्रभित्रको वित्तीय पारदर्शिता र नियामकीय निगरानीमाथि थप प्रश्न उठाएको छ।




