माघ महिनामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी, देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता
Author
NEPSE TRADING

काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार माघ महिनामा देशभर दर्ता भएका मुद्दामध्ये बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी रहेका छन्। उक्त अवधिमा मात्रै बैंकिङ कसुरसम्बन्धी १ हजार १७ मुद्दा दर्ता भएका छन्, जुन कुल दर्ता भएका मुद्दाको २२ दशमलव २९ प्रतिशत हो। यसले वित्तीय अपराधको बढ्दो प्रवृत्तिलाई संकेत गरेको छ।
त्यसैगरी, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धका ५६३ (१२ दशमलव ३४ प्रतिशत) मुद्दा दर्ता भएका छन्। आत्महत्याका ४ सय ९४, लागुऔषधसम्बन्धी ४ सय ३६, भवितव्य ज्यानसम्बन्धी ३ सय ८० तथा चोरीका ३ सय ६४ मुद्दा दर्ता भएका छन्।
देशभर कुल ४ हजार ५ सय ६१ मुद्दा दर्ता भएकामध्ये सबैभन्दा धेरै १ हजार ३ सय ३७ मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्। प्रदेशगत विवरणअनुसार कोशीमा ७ सय ७५, मधेसमा ७ सय ४, लुम्बिनीमा ५ सय ७३, बागमतीमा ३ सय ८८, गण्डकीमा ३ सय ६७, सुदूरपश्चिममा २ सय ५८ र कर्णालीमा सबैभन्दा कम १ सय ५९ मुद्दा दर्ता भएका छन्।



