बैंकिङ क्षेत्रको नाफा १५% ले घट्यो, पाँच महिनामा २० बैंकको नाफा २५.७२ अर्बमा सीमित
Author
NEPSE TRADING

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको समग्र नाफा झण्डै १५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले मंसिर मसान्तसम्म कुल २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.९५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकहरूले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका थिए।
नाफा घट्नुको मुख्य कारणका रूपमा खराब कर्जा (NPL) वृद्धि, आर्थिक मन्दी, ऋण मागमा कमी, प्रतिस्पर्धात्मक ब्याजदर तथा उच्च सञ्चालन खर्चलाई लिइएको छ। देशमा जारी आर्थिक सुस्ती र विभिन्न आन्दोलनको प्रभावले कर्जा प्रवाह र असुलीमा चुनौती बढ्दा बैंकहरूको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।
यस अवधिमा केही बैंकहरूले भने आफ्नो कर्जा तथा लगानी व्यवस्थापन सुधार गर्दै नाफा बढाउन सफल भएका छन्। सबैभन्दा धेरै नाफा कमाउने बैंकको रूपमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ। बैंकले १३.६९ प्रतिशत वृद्धिसहित ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकले पनि नाफा वृद्धि गरेका छन्।
तर अधिकांश बैंकहरूको नाफा घटेको छ। नबिल बैंकले ३ अर्ब ११ करोड रुपैयाँ नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। प्राइम कमर्सियल, एभरेष्ट, एनएमबी, कुमारी, लक्ष्मी सनराइज, नेपाल एसबीआई, एनआईसी एशिया लगायतका बैंकहरूको नाफा उल्लेखनीय रूपमा घटेको छ।
कुल २० बैंकमध्ये १५ बैंकको नाफा घटेको छ भने ६ बैंकले मात्र नाफा वृद्धि गरेका छन्। यसले बैंकिङ क्षेत्रमा असमान प्रदर्शन र प्रतिस्पर्धात्मक दबाब स्पष्ट रूपमा देखाएको छ। आगामी महिनामा कर्जा विस्तार, लागत नियन्त्रण र डिजिटल सेवामा प्रभावकारी सुधार गर्न सके बैंकहरूको नाफा पुनः सुधार हुने अपेक्षा गरिएको छ।


