·
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण
Author
NEPSE TRADING

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार २०८२ साल चैत १५ गते उक्त सेयर बाँडफाँड गरिएको हो।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको थियो।उक्त सेयरमा २०८२ साल चैत १ गतेदेखि चैत ५ गतेसम्म आवेदन खुला गरिएको थियो। आवेदन दिएका योग्य आवेदकहरूमध्ये कुल १० हजार ४ सय जनालाई १ लाख ४ हजार कित्ता सेयर प्रचलित नियमअनुसार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।सेयर बाँडफाँडको विस्तृत नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।यस निष्काशन प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण लगानीकर्ता, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा नियामक निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले ऊर्जा क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै दीर्घकालीन रूपमा विद्युत उत्पादनमार्फत देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।




