मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
Author
NEPSE TRADING

काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ। भौगोलिक विकटता हुँदाहुँदै पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा सार्वजनिक गर्ने लक्ष्य आयोगले राखेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पहाडी तथा हिमाली क्षेत्रका कारण मतपेटिका संकलनमा केही समय लाग्ने सम्भावना भए पनि सकेसम्म छिटो संकलन गर्ने प्रयास भइरहेको बताए। उनका अनुसार दुर्गम क्षेत्रमा रहेका मतपेटिका संकलन गर्न आवश्यक परे नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिनेछ।
भण्डारीका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि समानान्तर रूपमा अघि बढाइनेछ। दुवै प्रणालीको नतिजा सकेसम्म छिटो सार्वजनिक गर्ने तयारी आयोगले गरेको उनले जानकारी दिए।
आयोगले गरेको प्रतिबद्धता कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषयमा निगरानी गर्न सञ्चारकर्मीलाई समेत आग्रह गरिएको छ। उनले पारदर्शिता र विश्वसनीयता कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
त्यसैगरी, उनले विश्वका अधिकांश प्रजातान्त्रिक मुलुकहरूमा निर्वाचनअघि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी निर्वाचन प्रक्रियाबारे जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने अभ्यास सामान्य रहेको पनि बताए।



