·
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफल
Author
NEPSE TRADING

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रमुख व्यवसायिक संघ–संस्थाका प्रतिनिधिसँग समसामयिक आर्थिक विषयमा छलफल गरेका छन्। बिहीबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी सहभागी थिए।छलफलका क्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन, राजस्व वृद्धि गर्न आवश्यक नीतिगत संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता विषय उठाइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बताए। निजी क्षेत्रले भ्याट प्रणालीलाई बहुदरमा लैजानुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीच अन्तर राख्नुपर्ने, उत्पादन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने र अन्तःशुल्क दर घटाउनुपर्ने माग पनि राखेको थियो।त्यस्तै, निजी क्षेत्रसँग सम्बन्धित फाइलहरू विभिन्न निकायमा लामो समयसम्म थन्काएर राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको थियो। आगामी दिनमा आर्थिक गतिविधि विस्तार गरी करिब ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय ३ हजार डलरसम्म पुर्याउने र ६० खर्बको अर्थतन्त्रलाई १०० खर्बमा विस्तार गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।छलफलका क्रममा अर्थमन्त्री खनालले लगानीमैत्री वातावरण निर्माण र आर्थिक सुशासन कायम गर्न सुधारात्मक कदम चालिएको उल्लेख गर्दै बाँकी विषयबारे आगामी सरकारलाई सुझाव दिने प्रतिबद्धता जनाएका थिए। साथै, हालै सम्पन्न निर्वाचनपछि देशमा स्थिर सरकार बन्ने वातावरण बनेकाले व्यवसायिक वातावरण सुधार हुँदै गएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका थिए।




