·
अन्तर्राष्ट्रिय मूल्यवृद्धिको प्रभाव: पेट्रोलियम पदार्थको भाउ पुनः बढ्यो
Author
NEPSE TRADING

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाइएको हो । नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँका दरले वृद्धि गरिएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले महँगिएको छ । साथै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य २१९ रुपैयाँ, डिजेल तथा मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास २०१० रुपैयाँ प्रतिसिलिन्डर र आन्तरिक हवाई इन्धन २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेकोले मूल्य समायोजन अपरिहार्य भएको हो । सरकारले करमा आंशिक छुट दिए पनि घाटा नियन्त्रणमा आउन नसकेको भन्दै निगमले मूल्य वृद्धि गरेको जनाएको छ । मूल्य समायोजनपछि पनि निगमले पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको दाबी गर्दै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ ।




