कारोबार बढेसँगै नेप्से उकालो, वित्त उपसमूहमा सर्वाधिक वृद्धि
Author
NEPSE TRADING

साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजार मजबुत रूपमा उकालो लागेको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले बढेको नेप्से परिसूचक यस दिन ३१.१२ अंक अर्थात् १.१७ प्रतिशतले बढेर २६७२.५५ विन्दुमा बन्द भएको छ। बजारसँगै सेन्सेटिभ इण्डेक्स ४.७० अंक, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले वृद्धि भएको छ। नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि बलियो साथ दिएको देखिएको छ। यस दिन ३३८ स्टकको ९५ हजार ४४५ पटकको कारोबारमार्फत ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १ करोड ६६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका चार कम्पनी—सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज र गोर्खाज फाइनान्स—को शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशतले बढ्दा बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य साढे ७ प्रतिशतले उकालो लागेको छ। यद्यपि, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.७८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहँदै ५३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहका परिसूचकहरू बढेका छन्, जसमध्ये वित्त उपसमूह सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ।


