·
५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा, ‘उधारो’ मा शेयर किनबेच गराएको आरोप
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’लाई निलम्बन गर्ने निर्णय गरेको छ। कम्पनीले विवादास्पद व्यापारी दीपक भट्टलाई नियमविपरीत उधारोमा शेयर किनबेच गर्न दिएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा यो निर्णय लिइएको हो।सेबोनका सञ्चालक आनन्दराज शर्माले सोमबार आयोजित बैठकमा यस निर्णयको पुष्टि गरे। उनले भने, "हिजो बसेको बोर्ड बैठकले भृकुटी स्टक ब्रोकिङलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।"सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा, भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको पत्ता लागेको थियो। विभागका अनुसार, दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतका शेयर खरिद गर्दा आफ्नो व्यक्तिगत बैंक खाताबाट नभई अन्य विभिन्न व्यक्तिहरू र खाताबाट भुक्तानी गरेका थिए।धितोपत्र कारोबारको विद्यमान व्यवस्था अनुसार, शेयर खरिद गर्नुअघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत पेस्की (मार्जिन) रकम लिनुपर्ने प्रावधान छ। तर, ५५ नम्बरको ब्रोकरले उक्त नियम पालना नगरी भट्टलाई उधारोमा कारोबारको सुविधा दिएको र तेस्रो व्यक्तिको खाताबाट भुक्तानी स्वीकार गरेर सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको पाइएको छ।सेबोनको निर्णयसँगै भृकुटी स्टक ब्रोकिङ कम्पनीले अर्को आदेश नभएसम्म कुनै पनि शेयर कारोबार गर्न नपाउने छ। यो निर्णयसँगै कम्पनीका काठमाडौँसहित देशभरका विभिन्न १० स्थानमा सेवा लिइरहेका ग्राहकहरू प्रत्यक्ष प्रभावित हुने भएका छन्।




