बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्छ :चन्द्रप्रसाद ढकाल
Author
NEPSE trading

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको स्पष्ट पारे।
अध्यक्ष ढकालले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने निर्णयलाई ऐतिहासिक र निकै महत्वपूर्ण भनेका छन्। उनले भने, "यो ऐतिहासिक निर्णयले निजी क्षेत्रलाई थप सशक्त बनाउनेछ। सरकार र निजी क्षेत्र मिलेर राम्रो निर्णय लिन सकिन्छ भन्ने सन्देश बजेटले दिएको छ।"
उनले अब बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताए। स्रोत र साधनको परिचालनमा ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले पनि बजेटलाई स्वागतयोग्य भएको बताएका छन्। उनले बजेटले निजी क्षेत्रको मनोबल बढाउने किसिमको नीतिहरू समावेश गरेकाले यो लगानीमैत्री बजेट भएको दाबी गरे।
पूर्व अध्यक्ष अग्रवालले राजस्वको लक्ष्य हासिल गर्न उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन्। "लगानी बिना उत्पादन हुँदैन, उत्पादन बिना राजस्व बढ्दैन," उनले भने।
बजेटमा विदेशी लगानीका विषयमा देखिएको सकारात्मकता पनि निजी क्षेत्रका लागि उत्साहजनक भएको उनले उल्लेख गरे।
उनले औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको बताए। भन्सार प्रणाली सुधार, ऊर्जा क्षेत्रको ओभरसाइट हटाउने, र सहज नीतिको आवश्यकता रहेको सुझाव दिंदै उनले भने, "ऊर्जा क्षेत्र नेपालको समृद्धिको मूल आधार हो। यो क्षेत्रमा स्पष्ट, सहज र दीर्घकालीन रणनीति आवश्यक छ।"
छलफलमा सहभागी उद्योगी नेताहरूले समग्र बजेट निजी क्षेत्रमैत्री भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।