माग सम्बोधनको सहमतिपछि भन्सार एजेन्ट महासंघको पेन डाउन आन्दोलन फिर्ता
Author
NEPSE TRADING

भन्सार एजेन्ट महासंघले सञ्चालन गर्दै आएको पेन डाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको छ। पछिल्ला दिनमा महासंघ र भन्सार विभागबीच भएको निरन्तर संवाद सकारात्मक दिशामा अघि बढेपछि महासंघका प्रमुख मागहरू सम्बोधन हुने सहमति बनेको र त्यसअनुसार आन्दोलन स्थगन गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।
महासंघका पदाधिकारीका अनुसार भन्सार ऐन २०५२ का केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, कार्यक्षमता र अन्तर्राष्ट्रिय व्यापार सहजतामा नकारात्मक प्रभाव पारिरहेको भन्दै उनीहरूले आन्दोलनको तयारी गरेका थिए। नयाँ कानुनी संरचना लागू भएसँगै एजेन्टहरूको भूमिका कमजोर हुने, जिम्मेवारी अस्पष्ट हुने र व्यावसायिक वातावरण प्रभावित हुने चिन्ता महासंघले अघि सारेको थियो।
मङ्सिर २० गतेबाट लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको ऐन, २०८२ भित्र रहेका केही दफाप्रति विमति जनाउँदै महासंघ आन्दोलित बनेको थियो। त्यसको विरोधस्वरूप महासंघले मङ्सिर २३ गतेदेखि देशभरका सबै भन्सार कार्यालयहरूमा पेन डाउनसहितका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो।
तर मंगलबार भएको छलफलपछि भन्सार विभागले महासंघका उठाइएका मुद्दा र व्यावहारिक चुनौतीहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिइएको महासंघका अध्यक्ष प्राचिन कुमार थैबले जानकारी दिए। उनले आन्दोलन सफल बनाउन साथ दिएको उद्योग–व्यवसायिक समुदाय, संघ–संस्था तथा देशभरका भन्सार एजेन्टहरूलाई धन्यवाद व्यक्त गरे।
महासंघले अब विभागसँग सहमति भएको विषयलाई कार्यान्वयन गराउने प्रक्रियामा ध्यान केन्द्रित गर्ने बताएको छ। भन्सार कार्य प्रणालीलाई पारदर्शी, दिगो र सहज बनाउन एजेन्टहरूको योगदान महत्त्वपूर्ण रहेको भन्दै महासंघले आगामी दिनमा पनि नीतीगत संवाद निरन्तर रहने जनाएको छ।


