·

नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियो

Author

NEPSE TRADING

नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियो

आइतबारको शेयर बजारमा सुधारको लहर देखा परेको छ। लगातार गिरावटपछि नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २५०३.८५ विन्दुमा पुगेको हो। यद्यपि कारोबार रकम भने घटेको देखिन्छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दुई अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साता बिहीबारको तीन अर्ब २७ करोडको तुलनामा कम हो।

आज १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ समूह ११.६४ अंकले बढ्दै १३४९.३६ विन्दुमा पुगेको छ भने विकास बैंक समूह ११.६४ अंकले घटेर ५२५८.८७ विन्दुमा पुगेको छ। वित्त समूह ११.१६ अंकले बढ्दै २१७२.८६ विन्दुमा पुगेको छ। होटल तथा पर्यटन समूह ४२.९६ अंकले बढ्दै ५९७३.१३ विन्दुमा पुगेको छ। जलविद्युत समूह २२.०३ अंकले बढेर ३२६९.७८ विन्दुमा पुगेको छ।

लगानी समूह ०.७६ अंकले बढ्दै १०१.२१ विन्दुमा पुगेको छ। जीवन बीमा समूह ४०.६३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ३६.१२ अंकले घटेको छ। उत्पादन समूह ६३.९५ अंकले, लघुवित्त समूह २२.२२ अंकले, म्युचुअल फण्ड समूह ०.०२ अंकले, व्यापार समूह ३३.२८ अंकले र अन्य समूह २६.०५ अंकले बढेका छन्।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढ्दै ६ हजार ७१० रुपैयाँमा पुगेर बजार बन्द भएको छ। हिमालयन पावर पार्टनरको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्दै ५११ रुपैयाँमा पुगेको छ। त्यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशतले र एशियन हाइड्रोपावरको ७.८० प्रतिशतले वृद्धि भएको छ। अभियान लघुवित्तको शेयरमूल्य पनि ६.०१ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीहरूमा हिमालयन ८०–२० सबैभन्दा अगाडि रह्यो, जसको शेयरमूल्य ६.१० प्रतिशतले घटेको छ। कालिका लघुवित्त ३.९४ प्रतिशतले, प्रभु सेलेक्ट फण्ड ३.७६ प्रतिशतले, नेपाल माइक्रो इन्स्योरेन्स ३.७० प्रतिशतले र मुक्तिनाथ विकास बैंक ३.४२ प्रतिशतले घटेका छन्।

टेक्निकल विश्लेषणको नजरमा बजार

विश्लेषक अजित खनालका अनुसार नेप्से हाल महत्वपूर्ण सपोर्ट जोनमा उभिएको छ। चार्टमा ट्विजर बटम (Tweezers Bottom) क्यान्डल फर्मेशन देखिएको छ — यद्यपि यो प्रपर इन्गल्फिङ नभए पनि बजारमा रिभर्सलको संकेत देखिएको छ।

RSI सूचकांक हाल ३५ को स्तरमा पुगेको छ, जसले माइल्ड बुलिश डाइभरजेन्स संकेत गर्छ। यसले बजार अत्यधिक ओभरसोल्ड जोनबाट फर्कने सम्भावना प्रष्ट पार्दैछ।

ब्रोकर कारोबारतर्फ हेर्दा, ठूला १० ब्रोकरमध्ये ७ ब्रोकरले बेचेकोभन्दा बढी खरिद गरेका छन्, जसले बजारमा रिटेल र इन्स्टिट्यूशनल दुवै लगानीकर्ताको सकारात्मक सहभागिता जनाउँछ।

लगातार घट्दो बजारले अन्ततः तिहारअघि सानो तर आशाजनक सुधार संकेत देखाउँदै साता सकारात्मक क्लोजिङ गरेको छ।

सबै लगानीकर्ताहरूलाई तिहार तथा दिपावलीको हार्दिक शुभकामना!

Related News