·

६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्यसहितको बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक : अर्थमन्त्री पौडेल

Author

NEPSE trading

६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्यसहितको बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित निर्माण गरिएको बताएका छन्। शनिवार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेट सकारात्मक ढंगले आएको भन्दै यसको कार्यान्वयन पनि सकारात्मक हुने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलले विगतमा ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिसकेको अनुभवका आधारमा हालको ६ प्रतिशतको लक्ष्य प्राप्ति सम्भव रहेको बताए। "बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर, सीमा पालना गरेर र स्रोत व्यवस्थापन गरेर बजेट निर्माण गरिएको हो," उनले भने।

राजस्व संकलनको लक्ष्य प्राप्त गर्नका लागि थोरै मेहनत आवश्यक रहेको उल्लेख गर्दै उनले भने, "काम नगरेर लक्ष्य हासिल हुँदैन। काम गरे लक्ष्य प्राप्त हुन्छ।"

पौडेलले सार्वजनिक ऋणको विषयमा अनावश्यक चिन्ता नगर्न पनि आग्रह गरे। "ऋण साँवा ब्याज तिर्न सक्ने हिसाबले लिइएको हो, त्यसकारण स्रोतको विषयमा डराउनु पर्दैन," उनले स्पष्ट पारे।

छलफलका क्रममा उनले साना योजनामा बजेटको अत्यधिक लोड भएर समस्याहरु आएको उल्लेख गर्दै यो बजेटले त्यस समस्याको समाधान गर्ने व्यवस्था गरेको बताए। बजेटमा खुद्रा योजनालाई होसियारपूर्वक समेटिएको दाबी गर्दै स्रोतको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए।

उनले बजेटले निजी क्षेत्रलाई स्पष्ट सन्देश दिएको बताए—सरकार सबै काम गर्ने होइन, निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्नुपर्ने अवस्था छ। विशेषगरी युवा उद्यमीका लागि सशक्त पहल गरिएको र निर्माण क्षेत्रका समस्याहरु समाधान गर्न सरकार सक्रिय रहेको उनको भनाइ थियो।

डिजिटल बैंकिङ प्रणालीको पूर्वाधार निर्माणका लागि सरकार तथा राष्ट्र बैंक समन्वयमा काम गर्दै गएको जानकारी दिँदै उनले ट्रान्समिसन लाइन तथा आयोजनाहरु निर्धारण गरिएको समयमा सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य भएको बताए।

खनिज पदार्थको प्रयोग वातावरणमा असर नपर्ने गरी गर्नु पर्ने आवश्यकता औंल्याउँदै उनले बजेटले त्यसमा विशेष ध्यान दिएको बताए। बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको भन्दै उनले साझा प्रयासमार्फत आर्थिक लक्ष्य पुरा गर्न सकिने विश्वास व्यक्त गरे।

Related News