नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
Author
NEPSE trading

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री पौडेलले नेपालमा पूर्वाधार विकास र पर्यटनमा व्यापक सम्भावना रहेको उल्लेख गर्दै लगानीका लागि अनुकूल वातावरण रहेको बताए।
“निजी क्षेत्रका लागि नेपालमा लगानीमैत्री नीति छ। तपाईंहरूले लगानीका क्षेत्र पहिचान गरी तयारीसाथ अघि बढ्नुहोस्। सरकारले आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ,” अर्थमन्त्री पौडेलले प्रतिनिधिमण्डललाई बताए।
प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, जलविद्युत, पूर्वाधार, वातावरण, व्यापार र पर्यटन क्षेत्र लगायतमा लगानी गर्ने रुचि देखाएका थिए। उक्त प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायतका लगानीकर्ता सहभागी थिए।