·

फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि

Author

NEPSE TRADING

फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि

वाणिज्य बैंकहरूमा स्थायी खातामार्फत संकलन भएको निक्षेपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ सालको बैशाख मसान्तसम्म बैंकले रु. २७२ अर्ब ८६ करोड स्थायी (फिक्स्ड) निक्षेप संकलन गरेको छ।

ग्लोबल आइएमई पछ्याउँदै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) ले रु. २५५ अर्ब ८० करोड र नबिल बैंकले रु. २३५ अर्ब १८ करोड फिक्स्ड निक्षेप संकलन गरेका छन्। स्थायी निक्षेप संकलनको दृष्टिकोणले यी बैंकहरू नेपालको बैंकिङ क्षेत्रको अग्रपंक्तिमा रहेका छन्।

फिक्स्ड डिपोजिट संकलनमा कुमारी बैंकले रु. १९८ अर्ब ५२ करोड र आरबीबीले रु. १७४ अर्ब ८८ करोड बराबरको योगदान जुटाएका छन्। फिक्स्ड डिपोजिट संकलनमा शीर्ष पाँच बैंकको कूल हिस्सा एक खर्बभन्दा बढीको अन्तरले बाँकी बैंकहरूभन्दा स्पष्ट अग्रता लिएको छ।

फिक्स्ड निक्षेपमा संकलन हुने रकम लामो अवधिको हुने भएकाले बैंकहरूका लागि यो तुलनात्मक रूपमा सस्तो र स्थिर स्रोत मानिन्छ। यस्तो स्रोतले कर्जा प्रवाहमा लचकता ल्याउनुका साथै ऋणमा ब्याजदर घटाउन मद्दत पुग्ने वित्तीय विश्लेषकहरूको भनाइ छ।

यसबाहेक, स्थायी निक्षेपमा घरेलु स्रोतको योगदान उच्च देखिएको छ। ग्लोबल आइएमई बैंकको फिक्स्ड डिपोजिटमध्ये रु. २६९ अर्ब ३२ करोड, नबिलको रु. २३१ अर्ब २६ करोड र एनआईएमबीको रु. २४५ अर्ब ६५ करोड घरेलु फिक्स्ड खाताबाट आएको हो। यसले नेपाली जनताको बैंकप्रतिको विश्वास अझै सुदृढ हुँदै गएको संकेत गर्छ।

यद्यपि, सबै बैंकहरूको अवस्था यति सबल भने देखिएको छैन। स्ट्यान्डर्ड चार्टर्ड बैंकको फिक्स्ड डिपोजिट रु. २९ अर्ब ८५ करोड मात्र रहेको छ। माछापुच्छ्रे बैंक र सिटिजेन बैंकको पनि योगदान तुलनात्मक रूपमा कमजोर देखिन्छ। यस्ता बैंकहरूले फिक्स्ड खातामा ग्राहक आकर्षण गर्न अझ विशेष योजना ल्याउनुपर्ने देखिन्छ।

स्थायी खातामा रहेको रकमले बैंकको दीर्घकालीन वित्तीय रणनीति, लगानी क्षमता र तरलता व्यवस्थापनमा ठूलो भूमिका खेल्छ। हालको आर्थिक परिवेशमा फिक्स्ड डिपोजिटको वृद्धिले बैंकको सुदृढता झल्काउँछ भने यस्तो रकमको प्रयोग दीर्घकालीन ऋण योजनामा लक्षित हुने गर्दछ।

Related News