·

नेप्से सामान्य अंकले हरियाली, इन्वर्टेड ह्याम्बर बनेपछि....

Author

NEPSE TRADING

नेप्से सामान्य अंकले हरियाली, इन्वर्टेड ह्याम्बर बनेपछि....

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले हरियालीमा बन्द भएको छ । अघिल्ला दुई दिन लगातार घटेको बजारमा आइतबार ०.४७ अंकले वृद्धिसँगै नेप्से २६५५.८५ विन्दुमा पुगेको हो ।

पछिल्लो समय सेयर धितो कर्जामा तीव्र वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरिसकेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३५ अर्बले बढी हो । नबिल बैंक, ग्लोबल आइएमई र कुमारी बैंक मुख्य कर्जा प्रवाहकर्तामध्ये पर्छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरू क्रमशः १८ अर्ब र ४ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । १ करोडभन्दा माथिको सेयर धितो कर्जा पनि ५३% ले बढेर ८५ अर्ब नाघेको छ ।

तर बजार भने अझै २६००–२७०० अंक सीमाभित्र अल्झिएको छ । कारोबार रकम पनि घट्दै गएको छ । आजको कारोबार ११ अर्ब ४४ करोड रुपैयाँमा सीमित रह्यो भने बिहीबारको कारोबार १२.५ अर्ब रुपैयाँको थियो । कुल ९५ हजारभन्दा बढी पटकको कारोबारमा २ करोड ५३ लाख कित्ता शेयर किनबेच भए ।

आइतबारको क्यान्डल संरचना ‘इन्वर्टेड ह्याम्बर’ मा बन्द भएको छ जुन बजारमा संकोच र अनिश्चितताको संकेत हो । मिडल ब्यान्ड ब्रेक गर्न नसकेको क्यान्डलले बजार अझै दबावमा रहेको देखाउँछ । ५० दिनको मूभिङ एभरेज र डेथ क्रस ओभरको उपस्थितिले बजारमा डाउनट्रेन्ड कायम रहेको विश्लेषण गरिएको छ । यदि सोमबार बजार आजको हाईभन्दा माथि बन्द हुन सके, इन्वर्टेड ह्याम्बर कन्फर्म हुने र बजारमा सानो बाउन्स आउन सक्ने अनुमान गरिएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरले आज सर्किट लेभल छोएका छन् । बरुण हाइड्रोपावरको शेयर १०% जति बढ्यो भने युनियन हाइड्रो ९% माथि उकालो लाग्यो । सानिमा माइ हाइड्रोपावर ८९ करोडको कारोबारसहित अग्रस्थानमा रह्यो भने त्यसपछि ङादी ग्रुप र बुटवल पावर कम्पनीको उच्च कारोबार देखियो ।

ब्रोकर क्रियाकलापको विश्लेषण गर्दा १० मध्ये ४ ब्रोकरले बाई अधिक गरेका छन् भने ६ ले सेल बढी देखिएका छन् । सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर नं. ४५ ले १ अर्ब ३२ करोडको कारोबारमा बाई ६४ करोड र सेल ६७ करोड गरेको छ । यसले बजारमा ठूलो ब्रोकरहरूमा पनि सेलीङ्ग प्रेसर देखिएको संकेत दिन्छ ।

धितो कर्जाको वृद्धिले बजारमा तत्काल ठूलो उथलपुथल ल्याएको छैन । मौद्रिक नीतिमा जोखिम भार घटाइए पनि बजार अझै स्पष्ट नीति र दिशाको प्रतीक्षामा छ । नयाँ गभर्नरप्रतिको आशा र प्राविधिक संकेतको भरमा बजार अल्पकालीन बाउन्स त गर्न सक्छ, तर स्थायीत्वका लागि अझ ठोस नीति आवश्यक देखिन्छ ।

Related News