एआई र ब्लकचेनमा केन्द्रित ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना हुने
Author
NEPSE trading

सरकारले कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन प्रविधि, डिजिटल पूर्वाधार र साइबर सुरक्षाको प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरेको छ।
यो योजना पूर्वअर्थ सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ अन्तर्गत समावेश गरिएको हो।
कार्ययोजनाअनुसार केन्द्रको स्थापना एक वर्षभित्र गरिनेछ। यो केन्द्रले डिजिटल प्रविधिको क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ उन्मुख गराउने रणनीतिक केन्द्रको रूपमा कार्य गर्नेछ।
सहकार्यमा केन्द्रको स्थापना
केन्द्रको स्थापना इन्जिनियरिङ अध्ययन संस्थान (IOE), काठमाडौं विश्वविद्यालय, र निजी क्षेत्रका सूचना प्रविधि कम्पनीहरू सँगको सहकार्यमा गरिने कार्ययोजनामा उल्लेख छ।
यस केन्द्रले विशेष गरी निम्न चार मुख्य क्षेत्रमा काम गर्नेछ:
कृत्रिम बुद्धिमत्ता (AI)
ब्लकचेन प्रविधि
डिजिटल पूर्वाधारको विकास
साइबर सुरक्षा प्रवर्द्धन
मन्त्रालयहरूको भूमिका
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई केन्द्र स्थापना कार्यान्वयनको मुख्य जिम्मेवार निकाय तोकिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने अनुगमन तथा सहजीकरणको भूमिका निर्वाह गर्नेछ।
सरकारको यो पहलले नवप्रवर्तन, प्रविधि विकास, युवा सशक्तीकरण र डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्ने आशा गरिएको छ। विशेषगरी एआई र ब्लकचेनजस्ता उदीयमान प्रविधिमा सरकारी पहलमार्फत राष्ट्रियस्तरको अनुसन्धान र प्रयोगशाला प्रणाली विकास हुने अपेक्षा लिइएको छ.