हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने
Author
NEPSE TRADING

हिमालयन बैंक लिमिटेड (HBL) ले आगामी असार ३२ गतेदेखि फर्दर पब्लिक इस्यू (एफपीओ) मार्फत शेयर निष्काशन गर्न लागेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंकले आफ्नो कुल चुक्ता पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याउनुपर्ने प्रावधान अनुसार एफपीओ ल्याउन लागेको हो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ। अब सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा निष्काशन गर्न लागेको हो। यसबाट बैंकले करीब १ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्नेछ।
न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ भने अधिकतम कुनै सिमा नतोकिनेछ। छिटोमा निष्काशन साउन ४ गते बन्द हुनेछ भने आवश्यकता अनुसार साउन १४ गतेसम्म लम्बिन सक्नेछ। केयर रेटिङ नेपालले बैंकलाई CARE NP BBB रेटिङ दिएको छ, जसले मध्यम जोखिम रहेको जनाउँछ।
बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। एफपीओपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।