·

होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने तयारी

Author

NEPSE TRADING

होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालयमा जिल्ला होटल व्यवसायी सङ्घले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खड्काले पर्यटनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले होटल व्यवसायलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर आवश्यक सहुलियत दिने विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पारे।

होटल व्यवसायी सङ्घले हालको अवस्थामा होटल व्यवसाय निरन्तर घाटामा गएको, सञ्चालन खर्च धान्न कठिन भएको भन्दै विद्युत् महसुल उत्पादनमुखी उद्योग सरह छुटको व्यवस्था गर्न आग्रह गरेको थियो।

सङ्घका अध्यक्ष सुरेश बरालले पर्यटनले राजस्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा योगदान पुर्‍याएको भन्दै होटल व्यवसायलाई विशेष सुविधा दिनुपर्ने आवश्यकता औंल्याए।

सरकारले चालू आर्थिक वर्षको बजेटमा होटल र रेस्टुराँलाई उत्पादनमुखी उद्योग सरह मान्यता दिँदै विद्युत् महसुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा अझै कार्यान्वयन नभएको गुनासो सङ्घले राखेको छ।

अध्यक्ष बरालले अहिलेको आर्थिक मन्दी र निराशाजनक व्यावसायिक अवस्थाबीच विद्युत् महसुल छुटले होटल व्यवसायीलाई ठूलो राहत दिने विश्वास व्यक्त गरे।

Related News