·

ऊर्जा क्षेत्रमा लगानी अभाव र आईपीओ नीतिले निजी आयोजनामा चुनौती : इप्पान अध्यक्ष कार्की

Author

NEPSE trading

ऊर्जा क्षेत्रमा लगानी अभाव र आईपीओ नीतिले निजी आयोजनामा चुनौती : इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका ऊर्जा आयोजनाहरु समयमै सम्पन्न नहुन सक्ने अवस्था देखिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले पुँजी अभाव मुख्य कारण रहेको उल्लेख गरे।

कार्कीले ऊर्जा उत्पादनपछि मात्र आईपीओ जारी गर्न दिने नियमले निजी ऊर्जा कम्पनीहरुलाई गम्भीर समस्या परेको बताए। “ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ,” उनले भने, “आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव छ। करिब ६१ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ तर हाल ३६५ वटा आयोजना लाइसेन्स लिएर बसिरहेको अवस्था छ।”

उनका अनुसार हाल ५६०० मेगावाट क्षमताका आयोजना लाइसेन्स लिएर तयारी अवस्थामा छन् भने १७,००० मेगावाट भन्दा बढी क्षमताका आयोजना रन अफ रिभर प्रकारका छन्।

कार्कीले विद्युत् खरिदमा "चाहेको अवस्थामा मात्रै किन्ने" भन्ने सरकारी नीतिले उत्पादन भएको विद्युत खपत नहुन सक्ने चेतावनी पनि दिए। साथै, उनले खनाल आयोगले दिएको सिफारिसका केही बुँदाले पनि व्यवहारमा समस्या उत्पन्न गरिरहेको बताए।

कार्यक्रममा कार्कीले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारको स्पष्ट र लगानीमैत्री नीतिको खाँचो रहेको धारणा राखे। IPPAN ले बारम्बार आईपीओ नीतिमा लचिलोपन अपनाउन र वित्तीय पहुँच सहज बनाउन सरकारसँग माग गर्दै आएको छ।

Related News