काठमाडौँमा अवैध क्रिप्टो कारोबार आरोपमा एक व्यक्ति पक्राउ, १९ करोडभन्दा बढी रकमको डिजिटल कारोबार खुलासा
Author
NEPSE TRADING

काठमाडौँमा अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्दै आएका मोहम्मद सेफलाई प्रहरीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, बारा कलैया नगरपालिका घर भएका सेफ काठमाडौँमा बस्दै क्रिप्टो कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले सेफको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइलसमेत बरामद गरेको छ। ती मोबाइलमार्फत ठूलो परिमाणमा अभौतिक मुद्राको कारोबार गरिएको आशंका रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएपछि गरिएको प्राथमिक अनुसन्धानमा १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको डिजिटल कारोबार भएको तथ्य बाहिरिएको छ।
देशमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को प्रयोग तथा कारोबार कानूनी रूपमा निषेधित छ। यही आधारमा सेफविरुद्ध अभौतिक मुद्राको अवैध प्रयोगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिइएको अधिकारी भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार हाल पनि डिजिटल माध्यममार्फत हुने गैरकानूनी कारोबार रोक्न निगरानी कडा बनाइएको छ। पछिल्ला महिनाँमा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या बढ्दो अवस्थामा छ, जसले नियमन र प्रविधि–निगरानी थप चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीहरूको भनाइ छ।



