·

नेप्सेमा झिनो हरियाली, तर बजारमा अझै त्रासको बादल

Author

NEPSE trading

नेप्सेमा झिनो हरियाली, तर बजारमा अझै त्रासको बादल

क्यापीटल गेन ट्याक्स वृद्धि हुने हल्लाले लगानीकर्तामा अनावश्यक त्रास सिर्जना भएको छ। मंगलबार नेप्से सूचक ०.८५ अंकले बढ्दै २६७५.६२ बिन्दुमा पुगेको भए पनि कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँमै सीमित रह्यो। सूचक हल्का हरियो देखिए पनि बजारमा अन्योलता कायमै छ।

नेपाल राष्ट्र बैंकले हालै ल्याएको तेस्रो त्रैमासिक मौद्रिक समीक्षाले शेयर बजारलाई टेवा दिने निर्णय गरिसकेको छ। विशेषतः शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा सीमित गर्ने निर्णयले बजारमा आशा पलाएको थियो। तर, आगामी बजेटमा पुँजीगत लाभकर सम्बन्धी चर्चाले लगानीकर्तालाई अन्योलमा राखेको छ।

यसबीच प्रविधिक विश्लेषणले पनि बजार दबाबमा रहेको देखाएको छ। नेप्से सूचकले २०० दिनको मूविङ एभरेज सपोर्टमा "डोजी क्यान्डल" बनाएको छ, जसले अन्योलपूर्ण अवस्था दर्शाउँछ। पछिल्ला केही सत्रहरूमा बजारले २६६०–२६७० को सपोर्ट स्तरलाई बारम्बार परीक्षण गरिरहेको छ, जुन ब्रेक भएमा फेरि दबाब आउन सक्ने संकेत विश्लेषकले दिएका छन्।

ब्रोकरहरूको गतिविधि हेर्दा, मंगलबार १० प्रमुख ब्रोकरमध्ये ६ ले बढी खरिद र ४ ले बढी बिक्री गरेका छन्। अग्रणी ब्रोकर ५८ ले ६७.७५ करोडको कारोबार गर्दै ३८.२९ करोडको खरिद र २९.४६ करोडको बिक्री गरेको छ। ब्रोकर ४२ र ४५ को खरिद र बिक्री पनि तुलनात्मक रूपमा नजिक देखिएको छ।

Related News