ट्रेजरी बिलको ठूलो बोलकबोल आज: १६ अर्ब ४ करोड ५० लाखको निष्कासन हुने
Author
Nepse trading

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज फागुन १९ गते सोमबार १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। यो बोलकबोल बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ र मंगलबार फागुन २० गते निष्कासन गरिनेछ। जसअन्तर्गत ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिनेछ भने ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गरिनेछ। यी बिलहरू क्रमशः २०८२ जेठ २१, २०८२ भदौ १७ र २०८२ फागुन १९ मा परिपक्व हुने कार्यालयले जनाएको छ। ट्रेजरी बिल सरकारले छोटो अवधिको स्रोत व्यवस्थापनका लागि जारी गर्ने अल्पकालीन ऋणपत्र हो, जुन वैधानिक तरलता अनुपात, बैंक कारोबार र धितोको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
यसअघि फागुन १२ गते भएको बोलकबोलमा २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि १६ अर्ब ३ करोड र ३६४ दिन अवधिको ७ अर्बको बिलका लागि १९ अर्ब ९४ करोड रुपैयाँ बराबरको बोल परेको थियो। डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा कम अर्थात् २.९३ देखि २.९९ प्रतिशतसम्म कायम रहँदा बैंकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूसँग लगानीयोग्य रकम प्रशस्त भए पनि अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा उनीहरू सरकारी ऋणपत्रमा आकर्षित भएका छन्। ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नागरिकहरूले सहभागिता जनाउन सक्नेछन्। डिओएमएस सफ्टवेयरमार्फत गरिने यो बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई प्राथमिकता दिइनेछ।
