·

अर्थ मन्त्रालयमा अर्थमन्त्री र विश्व बैंक उपाध्यक्षबीच भेट

Author

NEPSE TRADING

अर्थ मन्त्रालयमा अर्थमन्त्री र विश्व बैंक उपाध्यक्षबीच भेट

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटबीच मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार भएको जानकारी गराउँदै नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार भइरहेको बताए।

उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपाल सरकारको प्राथमिकतासँग मेल खाने भएकाले यस अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरे।

त्यस्तै, उनले प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएपछि निजी क्षेत्रसँग सहकार्य गरेर प्रतिफल दिने आयोजनामा लगानी गर्ने र त्यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको स्पष्ट पारे।

विश्व बैंक उपाध्यक्षको धारणा

उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर कायम हुने गरी विश्व बैंकले निरन्तर सहयोग गर्ने बताए। उनले लुम्बिनी र काठमाडौं उपत्यकाको शहरी पूर्वाधार विकास, वातावरणीय प्रदूषण न्यूनीकरण र समग्र आर्थिक वृद्धिमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

जुटले नेपालको अर्थतन्त्रका सूचकहरू सुधार हुनु सकारात्मक रहेको उल्लेख गर्दै लगानी अझ बढाउन जरुरी भएको धारणा राखे। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा नयाँ लगानीका अवसरहरू खुल्ने र निजी क्षेत्रलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यस्तै, उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन नेपाल सरकारलाई सुझाव पनि दिए।

Related News