·

सोमबारदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको घोषणा

Author

NEPSE TRADING

सोमबारदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको घोषणा

आठ वटा यातायात व्यवसायी संघ-संगठनहरुले जेठ १९ गते (सोमबार)देखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा उनीहरुले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आफ्ना ७ बुँदे माग प्रस्तुत गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल यातायात मजदूर संगठनलगायतका संस्थाहरूले लामो समयदेखि सार्वजनिक यातायात क्षेत्रमा देखिएको नीति तथा व्यवस्थाको समस्याको समाधान नभएको भन्दै आन्दोलनमा जानुपर्ने अवस्था आएको बताएका छन्।

व्यवसायीहरूको मागमा प्रमुख रूपमा गण्डकी प्रदेश सरकारले ल्याएको निजी (रातो प्लेट) सवारीसाधनलाई सार्वजनिक रूपमा सञ्चालन गर्न दिने नियमावली २०८२ को तत्काल खारेजी, सार्वजनिक यातायात क्षेत्रका मजदूरहरूको लागि सामाजिक सुरक्षा कोषको अनिवार्य कार्यान्वयन, सवारी भार बहन क्षमता सम्बन्धी नियमहरूको कडाईका साथ कार्यान्वयन, दुर्घटना राहत कोषको स्थापना, बीमा दर निर्देशिकाको संशोधन लगायत छन्।

सरकारले यी माग सम्बोधन नगरेको खण्डमा जेठ १४ गते सबै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाउनेजेठ १९ गतेदेखि अनिश्चितकालीन बन्द गरिने संघर्ष समिति संयोजक विजयकुमार स्वाँरले चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दस वर्षदेखि सरकारसँग भएका छलफल र सहमतिहरू कार्यान्वयनमा नआएको भन्दै सरकारकै बिरुद्ध आन्दोलन गर्नु परेको बताएका छन्।

Related News