एनसेलले आइएसओ २७००१ र २७७०१ मान्यता प्राप्त गर्दै डेटा सुरक्षा र गोपनीयतामा अग्रणी स्थान कायम गरेको
Author
NEPSE trading
एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस) मान्यता प्राप्त गर्दै सूचना सुरक्षा र गोपनीयतामा आफ्नो नेतृत्वदायी स्थान थप सुदृढ पारेको छ। यो मान्यता प्राप्त गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ।
कम्पनीका अनुसार, यस उपलब्धिले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। एनसेलको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजले यी मान्यताहरू प्राप्त गरेका हुन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने, "यो मान्यता प्राप्त गर्न पाउनु हाम्रो लागि एक परिवर्तनकारी उपलब्धि हो। यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दै सूचना सुरक्षा र गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्न मद्दत पुर्याएको छ। हाम्रो टिमको समर्पणमा गर्व छ।"
आइएसओ २७००१ मान्यताले ग्राहक र साझेदारहरूको डेटा साइबर खतराबाट जोगाउन एनसेलले सशक्त उपायहरू अपनाएको पुष्टि गर्दछ। त्यस्तै, आइएसओ २७७०१ले व्यक्तिगत डेटा सुरक्षा र गोपनीयता सुनिश्चित गर्न उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरू पालना गरेको प्रमाणित गरेको छ।
एनसेलले भनेको छ, "यी मान्यताहरू प्राप्त गर्नु कम्पनीको सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने प्रमुख कोसेढुङ्गा हो।"