·

राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गर्यो

Author

NEPSE TRADING

राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गर्यो

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गरेको छ। यसमा कुल ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गरिनेछ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त र तोकिएका शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन्।

कुल ७ अर्ब ३५ करोड रुपैयाँको लगानीमध्ये “क” वर्गका वाणिज्य बैंकका लागि ५ अर्ब ८८ करोड रुपैयाँ, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि १ अर्ब १० करोड २५ लाख रुपैयाँ, र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ३६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। यो रकम २०२६ जनवरी २१ देखि २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा राखिनेछ।

प्रस्ताव पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम पुँजीकोष (बफरसहित) कायम राख्नुपर्ने, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभित्र हुनुपर्ने शर्त राखिएको छ। साथै, तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुको साथै पछिल्लो आर्थिक वर्षमा नाफा कमाएका हुनुपर्नेछ। फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको समस्याग्रस्त घोषणा गरिएका संस्थाले पनि प्रस्ताव दिन सक्छन्।

राष्ट्र बैंकले प्रस्ताव गरिएको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने स्पष्ट गरेको छ। उपदान तथा पेन्सन कोषको ठूलो रकम मुद्दती निक्षेपमा लगानी हुन लागेकाले यसले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन र ब्याजदर प्रतिस्पर्धामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Related News