तीन महिनामै नेपालले चार खर्ब बराबरको व्यापार घाटा बेहोऱ्यो
Author
NEPSE TRADING

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार, देशले यो अवधिमा रू ४ खर्ब ६८ अर्ब ८ करोड बराबरको वस्तु आयात गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाख बराबरको मात्रै निर्यात गरेको हो। यसरी तीन महिनामा नेपालले कुल रू ५ खर्ब ४० अर्ब ८६ करोड बराबरको वैदेशिक व्यापार गरेको र त्यसमा रू ३ खर्ब ९५ अर्ब ३० करोड बराबरको घाटा बेहोरेको विभागले जनाएको छ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। असोज मसान्तसम्म भारतबाट रू २ खर्ब ५८ अर्ब ८७ करोड बराबरको आयात र रू ५९ अर्ब १२ करोड बराबरको निर्यात हुँदा रू १ खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा भएको छ। त्यस्तै चीनसँगको व्यापार घाटा पनि उल्लेख्य छ — चीनबाट रू १ खर्ब ४ अर्ब ८९ करोड बराबरको आयात हुँदा निर्यात रू १८ करोड ६४ लाख मात्रै भएको छ।
तर, केही देशहरूसँग नेपालले व्यापार नाफा कमाएको छ। विशेषगरी डेनमार्कसँग रू २५ करोड बराबरको नाफा भएको छ। यो अवधिमा डेनमार्कबाट रू ४ करोड बराबरको आयात र रू २८ करोड ९९ लाख बराबरको निर्यात भएको छ। भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। पेट्रोलमा रू १६ अर्ब ७८ करोड, डिजेलमा रू २० अर्ब ६९ करोड र एलपी ग्यासमा रू १३ अर्ब ९८ करोड बराबरको आयात भएको छ। त्यस्तै, स्मार्टफोनको आयात पनि रू १३ अर्ब ६२ करोड पुगेको छ।



