·

नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक

Author

NEPSE TRADING

नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक

साताको चौथो दिन बुधबार पनि नेपाली शेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.३३ अंकले घट्दै २६००.२० विन्दुमा बन्द भएको हो । असार मसान्तको प्रभावले बजारमा केही दबाब देखिए पनि लगानीकर्ताको मनोविज्ञानले अझै निर्णायक असर पुर्‍याइरहेको विश्लेषकहरूको भनाइ छ ।

आजको कारोबारमा १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर ६१ हजार पटक किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ । कुल ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनी घटेका छन् । मोदि इनर्जी लिमिटेडको शेयरमा ९.९९% ले सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर, पञ्चकन्या माई, त्रिशुली हाइड्रो, र माउन्टेन हाइड्रोको मूल्य समेत उल्लेख्यरुपमा बढेका छन् ।

उपसमूहतर्फ होटल तथा पर्यटन समूह १.४३% ले अगाडि देखिँदा इन्भेस्टमेन्ट समूहको कारोबार हिस्सा ८% बाट १०% मा पुगेको छ । कारोबारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहँदा उसले मात्र ५३ करोड ९४ लाख रुपैयाँको कारोबार गरेको छ ।

प्रविधिक विश्लेषणतर्फ


नेप्से पछिल्ला तीन दिनदेखि एउटै सपोर्ट लाइन वरिपरि स्थिर छ । सोमबार बनेको 'इन्वर्टेड ह्याम्बर' क्यान्डलले ट्रेन्ड रिवर्सलको आशा जगाए पनि त्यसलाई पुष्ट्याउने बलियो क्यान्डलहरू बन्न नसक्दा बजार अझै अनिश्चित अवस्थामा रहेको देखिन्छ । कारोबारको सन्दर्भमा जलविद्युत कम्पनीहरूको हिस्सा ६३% पुगेको छ, जसले हाईड्रोमा चासो बढेको संकेत गर्छ ।

ब्रोकर विश्लेषणतर्फ
ब्रोकर नम्बर ५८ ले १ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै सबैभन्दा अगाडि देखिए पनि नेट होल्डिङ –८ करोड ४० लाख रुपैयाँ रहेको छ । उसको बाइ सेल रेसियो ०.८५१ रहेकोले बिक्री दबाब उच्च छ । त्यस्तै ब्रोकर ४२ को रेसियो ०.७१३ मात्र छ ।
दोसोतर्फ, ब्रोकर ३८ र ४५ ले क्रमशः ३ करोड ७० लाख र २ करोड ३६ लाख रुपैयाँको नेट खरिद गर्दै बाय साइडमा आक्रामकता देखाएका छन् ।


बजार लगातार साइडवेज अवस्थामा रहँदा स्पष्ट ट्रेन्ड देखिएको छैन । तर सपोर्ट लाइनमा बजार अडिन खोजिरहेको प्राविधिक संकेत, हाईड्रोपावर र इन्भेस्टमेन्ट सेक्टरमा चासो, र ब्रोकरहरूको खरिद–बिक्री व्यवहारले बजार अझै सेलर डोमिनेन्ट अवस्थामा रहेको देखाउँछ । लगानीकर्ताले सावधानीपूर्वक निर्णय लिनुपर्ने अवस्था कायमै छ ।

Related News