·

गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी

Author

NEPSE TRADING

गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पदमा नियुक्त भएपछि कानुनी प्रावधानअनुसार उनले बुधबार आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

गभर्नर पौडेलले विभिन्न सात कम्पनीमा प्रवर्द्धक (संस्थापक) सेयरधनीका रूपमा कूल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जी रहेका छन्। ग्लोबेको प्रालि नाम दोहोरिएर उल्लेख भएको छ।

उनले आफ्नो र श्रीमती प्रतिभा शर्माको नाममा विभिन्न बैंक खातामा जम्मा २० लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको जानकारी गराएका छन्। साथै सानिमा बैंकको डलर खातामा ५,५०० अमेरिकी डलर रहेको समेत उल्लेख गरेका छन्।

गभर्नर पौडेलले आफ्नो नाममा ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिरा रहेको जनाएका छन्। श्रीमती शर्माको नाममा ललितपुरमा मूल्य १ करोड ५५ लाख बराबरको जग्गा तथा नवलपरासीमा ६० लाख रुपैयाँ बराबरको जग्गा रहेको उनले उल्लेख गरेका छन्। यस्तै, श्रीमतीको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार रहेको विवरण पनि सम्पत्ति घोषणामा समावेश गरिएको छ।

Related News