·

पाल्पा सिमेन्टको आईपीओ पुस २५ गतेदेखि निष्कासनमा

Author

NEPSE TRADING

पाल्पा सिमेन्टको आईपीओ पुस २५ गतेदेखि निष्कासनमा

पाल्पा सिमेन्ट उद्योग लिमिटेडले पुस २५ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।

उक्त स्वीकृत सेयरमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यस अन्तर्गत पश्चिम नवलपरासी (साविक नवलपरासी) तथा खानी अवस्थित पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यस्तै, सर्वसाधारणका लागि छुट्याइएका सेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। स्थानीय बासिन्दाका लागि निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पुस ३० गते छिटोमा र ढिलोमा माघ ९ गते बन्द हुनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। हाल कम्पनीले दैनिक १,८०० मेट्रिक टन क्लिंकर र २,२०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Related News