·

गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त

Author

Nepse Trading

गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा रिक्त सदस्य पदमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सिफारिस समितिमा नियुक्त गरेसँगै समिति पूर्ण बनेको हो।

यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य रहेका थिए। तर, वैशाख १० गते भट्टराईले असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि समिति अपूर्ण बनेको थियो। चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन रहेको अवस्थामा समिति अधुरो हुँदा नियुक्ति प्रक्रिया रोकिएको थियो।

यसबीच, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपछि उनले प्रमुख कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, उनको राजीनामा स्वीकृत नभएपछि प्रक्रिया अलमलिएको थियो। हाल कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले त्यसलाई कार्यान्वयन गर्न निर्देशनसमेत दिएका छन्।

सिफारिस समितिले पूर्णता पाएसँगै अब नयाँ गभर्नर नियुक्तिको बाटो खुलेको छ।

Related News