रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट नजिक, शुक्रबार अन्तिम निर्णय
Author
Nepse trading

रिलायन्स स्पिनिङ मिल्स को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल ले यही साताको शुक्रबार आईपीओ बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।
उक्त आईपीओमा लगानीकर्ताको उत्साह अत्यधिक देखिएको छ। प्रतिकित्ता रु. ८२०.८० का दरले निष्कासन भएको आईपीओमा ५ लाख ८३ हजार ९७५ जना आवेदकबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता सेयरको माग परेको छ, जुन निष्कासनभन्दा करिब ३३ गुणा बढी हो। कम्पनीले जारी पूँजी रु. १ अर्ब ९० करोड को १०.१४ प्रतिशत, अर्थात् १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।
यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तातर्फ ४० प्रतिशत सेयर २०८० साल माघमै बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। बाँकी सेयरको बाँडफाँटपछि १८ हजार ४९५ जनाले ५० कित्ता का दरले सेयर पाउनेछन् भने ३६ जना भाग्यमानी आवेदकले ५१ कित्ता सेयर हात पार्नेछन्। अब लगानीकर्ताको चासो शुक्रबार हुने बाँडफाँटमा केन्द्रित भएको छ।



