·
इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमा
Author
NEPSETRADING

मध्यपूर्वको भूराजनीतिक तनावले नेपालको निर्माण क्षेत्रमा असर पुर्याउन थालेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै केही आयातकर्ताले निर्माण सामग्रीमा गरेको कृत्रिम अभाव र मनपरी मूल्य वृद्धि व्यवसायीलाई दबाबमा राखिरहेको छ।नेपाल आयल निगमले चैत १ मध्यरातिदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६९.५०–१७२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९.५०–१५२ कायम गरेको छ। अमेरिका, इजरायल र इरानबीचको तनावले विश्व पेट्रोलियम बजार हल्लाउँदा ऊर्जा स्रोत नभएका नेपाल जस्ता मुलुकहरूमा यसको प्रभाव प्रत्यक्ष परेको छ।तर निर्माण व्यवसायीलाई बढी सताएको भने निर्माण सामग्रीमा गरिएको कृत्रिम अभाव र मनपरी मूल्य वृद्धि हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार बुकिङ मूल्यभन्दा अहिले सामग्रीको मूल्य ४० रुपैयाँसम्म बढेको छ। दिनको विभिन्न समयमा फेरबदल हुने मूल्यमा फलामे डन्डी ८५–९० रुपैयाँसम्म पुगेको छ भने सिमेन्टमा पनि यस्तै प्रवृत्ति देखिएको छ।यस संकट समाधानका लागि महासंघले सरकारसँग ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको छ। सिंहका अनुसार हालको मूल्य वृद्धि तत्काल अन्तर्राष्ट्रिय बजारको प्रभावले नभई केही आयातकर्ताको होर्डिङ र बजार हल्लाबाट भएको हो।उद्योगीहरूले कार्टेलिङको आरोप अस्वीकार गर्दै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र ढुवानी तथा उत्पादन लागत बढेकाले मूल्य बढेको बताएका छन्। अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेका अनुसार ५० किलोको सिमेन्ट बोरामा २०–२५ रुपैयाँ र खाली बोराको मूल्य २० रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ। मूल्य वृद्धिको कारण वास्तविक उत्पादन लागत बढ्नु हो, कार्टेलिङ होइन।




