·

सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Author

NEPSE TRADING

सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। यसअघि भदौ २५ गतेदेखि आईपीओ खुल्ने भनिए पनि जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर निष्कासन गरिएको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि शेयर बिक्री सुरु गरेको हो। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

सागर डिष्टिलरीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ करोड ५२ लाख रुपैयाँका १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर भने सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता माग गर्न सक्नेछन्। असोज २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र माग अपूरा भएमा निष्कासन अवधि असोज १३ गतेसम्म लम्बिनेछ। तर विगतका अनुभव हेर्दा अत्यधिक बढी आवेदन पर्ने भएकाले यसपटक पनि न्यूनतम १० कित्ता शेयरमा मात्र भाग्य आजमाउन सिफारिस गरिएको छ।

यो आईपीओबाट १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गर्ने सम्भावना छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नै हो।

Related News