सेबोन अध्यक्ष नियुक्त हुन नसक्दा दर्जनौं काम रोकिए
Author
NEPSE trading
पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पद चार महिना देखि रिक्त छ । रमेशकुमार हमालको कार्यकाल पुस २० मा सकिएपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा दर्जनौं काम रोकिएका छन् । नेप्सेले संशोधन गरी पठाएका धितोपत्र सूचीकरण विनियमावली र धितोपत्र सदस्यता तथा सुपरीवेक्षण विनियमावली स्वीकृतिका लागि रोकिएका छन् ।
सार्वजनिक निष्कासन (आईपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), सामूहिक लगानी कोष (म्युचुअल फन्ड), हकप्रद सेयर (राइट सेयर) र ऋणपत्र (डिबेन्चर) निष्कासन कार्य चार महिना देखि ठप्प छन्। सेबोनमा अनुमतिका लागि पुगेका ६३ कम्पनीको ४५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर पाइप लाइनमा छन् ।
धितोपत्र बोर्ड अध्यक्ष नियुक्त नहुँदा दर्जनौं काम रोकिएका छन् भने सरकारले पनि पुँजी बजारलाई बेवास्ता गरेको लगानीकर्ताको गुनासो छ । अध्यक्ष नियुक्ति प्रक्रिया बजेटपछि अघि बढ्ने बताइएको छ ।
पद रिक्त भएपछि वरिष्ठ कार्यकारी निर्देशक नवराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परे पनि अर्थमन्त्रीको समन्वय अभावमा प्रक्रिया रोकिएको छ । यसले पुँजीबजार सुधारमा ब्रेक लागेको छ ।