·

अर्थतन्त्रमा सुधारको संकेत, दोस्रो त्रैमासिकमा ५.१% वृद्धिदरको अनुमान

Author

NEPSE trading

अर्थतन्त्रमा सुधारको संकेत, दोस्रो त्रैमासिकमा ५.१% वृद्धिदरको अनुमान

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको जनाएको छ। बुधबार सार्वजनिक भएको तथ्यांकअनुसार यो अवधिमा समग्र आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, मौसमी प्रभाव समायोजन गर्दा यो वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने देखिएको छ।

तथ्यांकअनुसार कुल १८ औद्योगिक क्षेत्रमध्ये सबैको मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ। यातायात तथा भण्डारण क्षेत्रले १४.२ प्रतिशतको उच्च वृद्धिदरसहित अग्रता लिएको छ भने खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो स्थानमा छ। त्यसैगरी, विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर ९.२ प्रतिशत र निर्माण क्षेत्रको ९.१ प्रतिशत रहने अनुमान छ। उत्पादनमूलक उद्योगले ७.४ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रले ६.६ प्रतिशत र व्यापार क्षेत्रले ६.१ प्रतिशत वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ।

अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर भने ३.२ प्रतिशतमा सीमित रहने अनुमान छ। धान, तरकारी, फलफूल र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यो क्षेत्रमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ। थोक तथा खुद्रा व्यापार क्षेत्रले पनि स्वदेशी उत्पादन र आयातमा भएको वृद्धिका कारण ६.१ प्रतिशतको वृद्धिदर कायम गरेको छ।

मौसमी प्रभाव समायोजन गर्दा १६ क्षेत्रमा उत्पादन बढेको देखिए पनि विद्युत तथा ग्यास क्षेत्रमा ४.८ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा २.७ प्रतिशतको ऋणात्मक वृद्धि हुने अनुमान छ। यातायात तथा भण्डारण क्षेत्रमा ६.४ प्रतिशत र वित्तीय तथा बीमा क्षेत्रमा ३.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यातायात, निर्माण, कृषि, विद्युत उत्पादन र वित्तीय क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्‍याएको छ। तर, शिक्षा, आवास र अन्य सेवा क्षेत्रमा उल्लेख्य प्रगति नहुँदा समग्र वृद्धिदर सामान्य रहने अनुमान गरिएको छ।

अर्थविद्हरूले यो तथ्यांकलाई अर्थतन्त्र सुधारको संकेतका रूपमा लिए पनि दिगो वृद्धिका लागि थप नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

Related News