·

हिंसात्मक प्रदर्शनले अर्थतन्त्रमा अर्बौंको क्षति, दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीको उग्रता

Author

NEPSE trading

हिंसात्मक प्रदर्शनले अर्थतन्त्रमा अर्बौंको क्षति, दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीको उग्रता

शुक्रबार काठमाडौं उपत्यकामा भएको हिंसात्मक प्रदर्शनले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। राजसंस्था पुनर्स्थापनाको माग गर्दै सडकमा उत्रिएको समूहको नेतृत्व मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले गरेका थिए। प्रदर्शनका क्रममा निजी सम्पत्ति, व्यवसाय, सवारीसाधन र सञ्चारमाध्यममा व्यापक तोडफोड र आगजनी भएपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो। दुई जनाको ज्यान गएको र सात जना घाइते भएको यो घटनाले देशभर त्रास फैलाएको छ।

तीनकुने क्षेत्रबाट सुरु भएको प्रदर्शनले छोटो समयमै उग्र रूप लियो। प्रदर्शनकारीले प्रहरीले तोकेको घेरा तोड्ने प्रयास गरेपछि झडप सुरु भएको थियो। प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले अश्रुग्यास र बल प्रयोग गर्नुपरेको प्रहरी स्रोतले बताएको छ। दुर्गा प्रसाईंको गाडीले प्रहरीको अवरोध भत्काउँदै अगाडि बढेपछि प्रदर्शनकारीको हौसला बढेको देखिन्छ। तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी र नरेफाँट क्षेत्रमा प्रदर्शनकारीले सयौं सवारीसाधनमा आगजनी गरेका छन् भने निजी भवनहरूमा अन्धाधुन्द तोडफोड गरेका छन्।

प्रदर्शनको निशानामा परेको तीनकुनेस्थित मार्बल हाउसमा आगजनी भएको छ भने त्यसको छेउछाउका अन्य घरहरूमा पनि ढुंगा प्रहारबाट क्षति पुगेको छ।

हिंसात्मक समूहले भाटभटेनी सुपर स्टोरमा लुटपाट गर्नुका साथै कोटेश्वर र बालकुमारी क्षेत्रका अन्य पसल र घरहरूमा आक्रमण गरेको छ। जडीबुटीस्थित सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगजनी भएको छ, जसले सरकारी सम्पत्तिमा समेत ठूलो क्षति पुर्‍याएको छ। यस्तै, अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोडको प्रयास भएको छ। सञ्चारमाध्यममाथिको यो आक्रमणले अभिव्यक्ति स्वतन्त्रतामाथि पनि प्रश्न उठाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ५७ खर्ब रुपैयाँभन्दा माथि छ। यस्तो अर्थतन्त्रमा एक दिनको बन्द वा आन्दोलनले कम्तीमा ३ देखि ४ अर्ब रुपैयाँको नोक्सानी हुने अनुमान गरिन्छ। तर, शुक्रबारको प्रदर्शनमा भएको तोडफोड, आगजनी, लुटपाट र सार्वजनिक यातायातको अवरोधको हिसाब जोड्दा यो क्षति अर्बौं रुपैयाँ पुगेको सरकारी अधिकारीहरूको प्रारम्भिक आकलन छ।

दुर्गा प्रसाईंले विगत लामो समयदेखि बैंकहरूप्रति भ्रामक जानकारी फैलाउँदै ऋण नतिर्ने अभियान चलाउँदै आएका छन्। उनको उक्साहटमा भएको यो हिंसात्मक प्रदर्शनले उनको गतिविधिमाथि थप प्रश्न उठाएको छ। राजसंस्था पुनर्स्थापनाको मागलाई लिएर उनले नेतृत्व गरेको यो आन्दोलनले शान्तिपूर्ण भनिए पनि हिंसात्मक रूप लिएको छ।

हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले थप सुरक्षा बल परिचालन गरेको छ। गृह मन्त्रालयले घटनाको छानबिन सुरु गरेको जनाएको छ भने दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि, यो घटनाले निजी सम्पत्तिको सुरक्षा र देशको आर्थिक स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ।

Related News