·
सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने
Author
NEPSE TRADING

सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आफ्नो जारी पूँजीको निश्चित अंश सर्वसाधारणमा बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत, अर्थात् ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।त्यस्तै, कम्पनीले कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखेको छ। यी सबै बाँडफाँडपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिनेछ।कम्पनीको आईपीओमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिने व्यवस्था गरिएको छ।यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा प्रणालीमार्फत ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरेर अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने बताइएको छ।कम्पनीका अनुसार यसको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। त्यस्तै कम्पनीको खुद वर्तमान मूल्य (NPV) १५ अर्ब ९७ करोड ५९ लाख रुपैयाँभन्दा बढी रहेको छ भने आन्तरिक प्रतिफल दर (IRR) २३.६३ प्रतिशत रहेको कम्पनीले जनाएको छ।



